काठमाण्डौ – नेपालमा पब्जी खेलमा प्रतिबन्ध लगाइने भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको आग्रहमा नेपाल दूरसञ्चार प्राधिकरणले पब्जी खेल बन्द गर्न सबै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको हो । प्राधिकरणले इन्टरनेट प्रदायकहरुलाई पत्र पठाउँदै पब्जी खेल डाउनलोड र खेल्ने कार्यका लागि रोक लगाउन निर्देशन दिएको हो ।
प्राधिकरणले बिहीबार सबै इन्टरनेट प्रदायकलाई पत्र पठाएको छ । धेरै बालबालिका तथा युवालाई यो खेलको लत लागेर दुर्घटनासम्म हुने गरेको भन्ने प्रहरीमा उजुरी आउन थालेपछि खेलमा प्रतिबन्ध लगाउन लागिएको हो ।
पब्जी कस्तो खेल हो ?
अचेलका युवा तथा किशोर–किशोरीहरुमाझ प्रिय बन्दै गएको भर्चुअल खेल हो पब्जी, यो अनलाइनको माध्यामद्वारा मोबाइल तथा कम्प्युटरमा खेल्न सकिन्छ ।
यो खेल खेल्न थालेपछि खेल्ने मान्छेमा चाँडै नै यसको लत बस्छ । त्यसपछि उनीहरुले आफ्नो खानपिनसमेत भुल्ने गर्छन ।अर्थात आफ्नो महत्वपूर्ण कामको पनि उनीहरुलाई वास्ता हुँदैन । जसले गर्दा उनीहरुमा विभिन्न मानसिक समस्या उत्पन्न हुन थाल्छन् ।
प्लेयर अननोन ब्याटलग्राउण्ड’ अर्थात छोटकरीमा पब्जी भनिने यो खेल व्यस्त दुनियाँमा सबैभन्दा बढी खेलिने अनलाइन खेल बन्दै गएको छ । समूहमा खेलिने यस खेलप्रतिको लोकप्रियताले बालबालिकाहरुमा गलत प्रभाव पार्दै आएको मनोचिकित्सकहरु बताउँछन् । मनोचिकित्सकहरुका अनुसार यो खेल खेल्नेहरुको मानसिक तथा शारीरिक विकासमा नकारात्मक असर पर्ने गरेको छ ।
नेपालमा यस खेलले पारेको प्रभावबारे कुनै अध्ययन गरिएको छैन । तर यस खेलबारे सामाजिक सञ्जालमा शेयर हुने भिडियोका आधारमा यहाँ पनि खेल्नेहरुको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको सहजै अनुमान लगाउन सकिन्छ ।
यो खेल विश्वभरिका खेलाडीहरुसँग खेल्न मिल्छ र सबैको समय क्षेत्र फरक–फरक हुन्छ । नेपालका युवाहरु अमेरिकन तथा युरोपियन खेलाडीहरुसँग खेल्नको लागि भए पनि रातको दुई–तीन बजेसम्म नसुतेरै खेलमा रात बिताउँछन् ।
यसले उनीहरुको निन्द्रा मात्र बिगार्दैन, यसको नकारात्मक असर रक्तचापदेखि मधुमेह जस्ता रोगहरुको पनि संक्रमण निम्त्याउँछ । पर्याप्त निद्रा नपुग्दा एकाग्रतामा कमी आउने र सम्झने शक्तिमा पनि ह्रास आउने चिकित्सकहरु बताउँछन् ।