राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन अनुसार सोलुखुम्बुको ८ स्थानीय तहमध्ये सोलुदुधकुण्ड नगरपालिका पहिलो बनेको छ । १०० पुर्णाङ्कमा गरिएको मुल्यांकनमा सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिका ६८.७६ अंकसहित सोलुखुम्बुको पहिलो स्थानीय तह बनेको हो ।
आयोगको प्रतिवेदन अनुसार सोलुखुम्बुको अन्य गाउँपालिकाहरुमध्ये थुलुङ दुधकोशी गाउँपालिकाले ६०.४६, खुम्बु पासाङल्हामु गाउँपालिकाले ५८.०६, माप्य दुधकोशी गाउँपालिकाले ५७.२१ र महाकुलुङ गाउँपालिकाले ५०.८८ अंक प्राप्त गरेको छ ।
यस्तै नेचासल्यान गाउँपालिकाले ४९.५८, सोताङ गाउँपालिकाले ४८.५९ र पुछारमा रहेको लिखुपिके गाउँपालिकाले ४५.१९ अंक प्राप्त गरेको छ । यही अंककै आधारमा स्थानिय तहले शसर्त अनुदान पाउनेछन् ।
विभिन्न १७ वटा सुचकमा गरिएको स्वमुल्याङ्कनबाट प्राप्त अंकलाइ आयोगले प्रतिवेदन बनाएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अनुसार स्थानीय सरकारले ऐन अनुसार १० असारभित्र सम्बन्धित गाँउ–नगरसभामा बजेट पेश गर्नुपर्छ । त्यसो भए–नभएकोलाई एक सूचक मानिएको छ । बजेट असार मसान्त भित्र पास गर्नुपर्छ । गरे–नगरेको विषय अर्को सूचक हो ।
स्थानीय तहले घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर, विज्ञापन करबाट उठेको रकम प्रदेश सरकारलाई हस्तान्तरण गरे–नगरेकोलाई समेत सूचक मानिएको छ । आगामी आव २०८०÷८१ को आय व्ययको प्रक्षेपण पुस मसान्त भित्र अर्थ मन्त्रालयमा पठाए वा नपठाएकोलाई समेत अर्को मूल्यांकनको आधार मानिएको छ ।
विनियोजित बजेट, त्यसको कार्यान्वयन, राजस्व संकलनको लक्ष्य र प्रगतिलाई समेत आयोगले मूल्यांकनको आधार बनाएको छ । लेखा परीक्षण, आवधिक योजना, सामुदायिक विद्यालयमा रहेका विद्यार्थीको संख्या, गर्भ जाँच गर्ने महिलाको संख्या, स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्या, बालबालिकाको संख्या, पूर्ण खोप लगाएका बालबालिकाको संख्या समेतलाई मूल्यांकनको आधार बनाइएको छ ।
source solufm