ओखलढुंगाको आन्तरीक पर्यटकीय क्षेत्र ठाडे–टोड्के क्षेत्रमा पाइने विभिन्न प्रजातिका गुराँसको संरक्षण थालिएको छ । सिद्धिचरण नगरपालिका वडा नम्बर ६ मा पर्ने ठाडे–टोड्के क्षेत्रमा गुराँसका बोट फँडानी प्रतिबन्ध लगाएको छ।
समुन्द्रिक सतह देखि २ हजार ८ सय मिटर उचाईमा रहेका यस क्षेत्रमा दाउराका लागि गुराँसका बोट धेरै कटानी हुन थालेपछि उक्त बोट फँडानीमा प्रतिबन्ध लगाएको सिद्धिचरण नगरपालिका वडा नं ६ का वडाध्यक्ष मेखबहादुर मगरले जानकारी दिनुभयो । ओखलढुंगा–पत्ताले सडक खण्ड आसपासमा पर्ने निजी तथा सामुदायिक वन क्षेत्रमा रहेका गुराँसले हिमाल हेर्न आउने पर्यटकलाई लोभ्याउने र आयआर्जनमा समेत टेवा पुग्ने गरेको स्थानीयले बताएका छन । संरक्षणका कारण अहिले यस क्षेत्रमा गुराँसका पोथ्रा हुर्कन थालेका छन् । चैत वैशाखको सिजनमा लाली गुंरास तथा चिमाल जातका गुंरास फुल्दा यस क्षेत्रका डाँडा पाखा राताम्मे हुने गरेका छन् ।सो राताम्मे बनेको गुरास हेर्न बिभिन्न ठाँउहरुबाट मानिसहरु आउने र मनोरम दृष्यहरु कैद गरेर लैजाने गरेको छ।