महाकुलुङ गाँउपालिका वडा नम्बर २ का ज्येष्ठ नागरिकहरु भ्रमणमा निस्किएका छन् । आर्थिक बर्ष २०७९÷८० को योजना अनुसार ज्येष्ठ नागरिकलाई धार्मिक तथा तिर्थ यात्रा गराइएको वडा कार्यालयले जनाएको छ ।
गाउँपालिकाको वडा नम्वर २ भित्रका ३४ जना ज्येष्ठ नागरिकहरुलाई पोखरा तथा काठमाण्डौको बिभिन्न ठाँउमा भ्रमण गराउन लागिएको वडा अध्यक्ष प्रदिप राईले जानकारी दिनुभयो ।
आर्थिक तथा पारिवारिक समस्याका कारण कतै भ्रमण गर्न नपाएका ज्येष्ठ नागरिकहरुलाई वडाकै आयोजनामा नयाँ ठाँउको भ्रमण गराउने उद्देश्य सहितको ज्येष्ठ नागरिक भ्रमण पुस ११ गतेवाट शुरु भएको हो ।
भ्रमण टोलीमा स्वास्थ्यकर्मीलाई समेत सहभागी गराइएको छ । भ्रमण टोलीलाई कुलुङ भवनको समेत अवलोकन गराउने योजना रहेको छ ।
यसैबीच सोलुखुम्बुको महाकुलुङ गाउपालिकाले ज्येष्ठ नागरिक, एकल महिला तथा फरक क्षमता भएकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । आज गाउँपालिकाको वडा नम्बर ४ गुदेलका करिब ३ सय ५० जनालाई ज्याकेट वितरण गरिएको पालिका अध्यक्ष सुर्य कुलुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार बढ्दै गरेको चिसोलाई लक्षित गरेर ज्याकेट वितरण गरिएको हो । न्यानो कपडा पाएसँगै ज्येष्ठ नागरिक तथा एकल महिलाहरु खुशी भएका छन् ।