खुम्बुपासाङल्हामू गाउँपालिका, सोलुखुम्बुलाई प्राप्त अत्याधुनिक फाईबर तथा यससँग सम्बन्धित प्राविधिक उपकरण हस्तान्तरण गरिएको छ । युरोपियन कमिशन, त्भ्क्ष्ल् ऋऋ र एशिया एट कनेक्ट, दक्षिण कोरियाको आर्थिक सहयोगमा प्राप्त ४४ किलोमिटर फाईबर आज एक समारोहका बिच गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।
खुम्बुपासाङल्हामू गाउँपालिकालाई द्रुत गतिको ईन्टरनेट सेवासँग जोड्दै डिजिटल नेपालको सपनालाई साकार बनाउन, गाउँपालिकाका हरेक गतिबिधिलाई प्रविधिमैत्री बनाउन अन्र्तराष्ट्रिय सहयोग मार्फत फाईबर तथा उपकरणहरु उपलब्ध गराईएको पालिकाले जनाएको छ । सो सहयोग उपलब्ध गराउन कार्यरत सेन्टर फर आई. सि. टी फर डेभेलोपमेन्ट तथा नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्कले आवश्यक प्रस्तावना तयारी तथा प्राविधिक सहयोग गर्दै आएको छ ।
आज सोलुखुम्बुमा आयोजित एक कार्यक्रममा बिच सेन्टर फर आई. सि. टी फर डेभेलोपमेन्टका कार्यकारी निर्देशक पवन शाक्यले खुम्बुपासाङल्हामू गाउँपालिकाका अध्यक्ष मिङमार शेर्पालाई २ लाख २८ हजार युरो बराबरको सामाग्रि औपचारिक रुपमा हस्तान्तरण गर्नुभयो । सहयोगका रुपमा प्राप्त सो फाईबर हाल फाप्लु बिमानस्थलमा रहेको र अब चाँडै नै तोकिएको स्थानसम्म हवाईमार्ग मार्फत ढुवानी प्रक्रिया अगाडी बढाईने खुम्बुपासाङल्हामू गाउँपालिका वडा नं. ४ का अध्यक्ष लक्ष्मण अधिकारीले बताउनुभयो । वहाँका अनुसार ३६ कोरको सो फाईबर नाम्चेदेखि सगरमाथा आधार शिबिरसम्म बिछ्याईने छ ।
जापानिज प्रविधिको सो फाईबर बिछ्याउने कार्य सम्पन्न भएपश्चात पालिका अन्र्तगतका सबै सेवालाई प्रविधिमैत्री बनाउने, दु्रत गतिको ईन्टरनेट सुविधा उपलब्ध गराउने तथा बिभिन्न अध्ययन अनुसन्धानमा प्रयोग गरिने छ । साथै फाईबर संचालनमा आएपश्चात पर्यटकको ट्रयाकिङ सिस्टम, बन्यजन्तु संरक्षण एवं राष्ट्रिय निकुञ्ज भित्रको सुरक्षा प्रणालिलाई पनि सुधार गर्न सहयोग पुग्ने आशा गाउँपालिकाले लिएको पालिका मिङमाछिरी अध्यक्ष शेर्पाले बताउनुभयो ।
जापानको ओसिसी कम्पनी मार्फत निर्माण गरिएको सो फाईबर १५ मिनेटसम्म आगलागी हुँदा समेत नजल्ने, ५ टनसम्मको भार सहन सक्ने, पानी मुनि, जमिन तथा आकाश मार्फत बिछ्याउन सकिने भएकाले पनि नेपाल जस्तो भौगोलिक बिकटता भएको क्षेत्रमा यस्तो प्रविधिको प्रयोगले सहजता ल्याउने आईसिटी फर डेभेलोपमेन्टका कार्यकारी निर्देशक शाक्यले जानकारी दिनुभयो ।


Source Solu Fm