जिल्ला अस्पताल फाप्लुको कर्मचारी आवास भवन प्रयोग बिहिन बनेको छ । आज भन्दा लगभग १० वर्ष अगाडीनै अस्पताल कर्मचारीहरुका लागि निर्माण गरिएको दुई तले भवन प्रयोग बिहिन बनेको हो ।
जिल्ला अस्पताल फाप्लुका निमित्त प्रमुख सानी शेर्पाका अनुसार कोभिड १९ को बेला आंशिक रुपमा प्रयोग भएको थियो । जंगल बीचको एकान्त ठाउँ हुनका साथै शबगृह नजिक भवन हुँदा प्रयोगमा आउन नसकेको उहाँको भनाई छ । कर्मचारीका लागि उपयुक्त स्थान नभएको भन्दै प्रयोग गर्न नमानेको निमित्त प्रमुख शेर्पाले सोलु एफ.एम.संग बताउँनुभयो । भवन निर्माण गर्दा स्थान पहिचान गर्न नसक्दा प्रयोगमा नआउँदै अहिले उक्त भवन जीर्ण बनेको छ ।
कोभिड–१९ का संक्रमितलाई राख्नको लागि जीर्ण भवन मर्मत गरिएको अस्पतालले जनाएको छ । अहिले भवन प्रयोगमा ल्याउने विषयमा छलफल भईरहेको निमित्त प्रमुख शानी शेर्पाले बताउँनुभयो ।
राज्य कोषको रकम खर्च गर्ने बेलामा विभिन्न पाटापक्ष तथा भविष्यमा हुन सक्ने जोखिम लगायतको विषयमा ध्यान दिन नसक्दा करोडौँ रकम उपयोग विहिन बन्ने गरेको सोलु दुधकुण्ड नगरपालिका ४ का वडा अध्यक्ष युवस तामाङले बताउँनुभयो । सिमित व्यक्तिको चहाना अनुसार काम गरिदा विभिन्न ठाउँमा समस्या देखिएको स्थानीयवासी दोर्जे तामाङले बताउँनुभयो ।