सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिकामा “एभरेष्ट भ्यु ट्रेल म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा पुरुषतर्फ अर्जुन कुलुङ र महिलातर्फ सबिना राईले उपाधि हात पारेका छन् ।
४७ किलोमिटर रेस कुलुङले ४ घण्टा ३८ मिनेट ४६ सेकेन्डमा र सबिना राईले ६ घण्टा ९ मिनेट १० सेकेन्डमा दुरी पार गर्दै उपाधि जित्न सफल भएका हुन् । आज बुधवार बिहान ७ बजे माप्यदुधकोशी गाउँपालिकाको रगंशालाबाट ४७ किलोमिटर दौड सुरु भएको थियो ।
माप्यदुधकोशी गाउँपालिकाका शिक्षा अधिकृत गजेन्द्र भट्टराईका अनुसार प्रतियोगितामा पुरुष तर्फ होमलाल श्रेष्ठले ४ घण्टा ४७ मिनेट २१ सेकेन्डमा दुरी पार गर्दै दोस्रो भएका छन्, भने ५ घण्टा १ मिनेट ५६ सेकेन्डमा पार गर्दै सुमन खालिङ तेस्रो भएका छन् । यस्तै महिला तर्फ ६ घण्टा ११ मिनेट ४० सेकेन्डमा पार गर्दै खोटाङका निर्मला राई दोस्रो हुनुभएको छ, भने ६ घण्टा ४० मिनेट ३५ सेकेन्डमा पार गर्दै लाक्पा निङ्मा शेर्पा तेस्रो हुनुभएको छ ।
यस्तै ३० देखी ३९ वर्षको उमेर समूहमा पुरुष तर्फ पहिलो, दोस्रो र तेस्रो हुने प्रतियोगीहरूमा जङ्गवीर कुलुङ, क्षितिज कुलुङ र टिकामान राई रहेका छन् । भने महिला तर्फ प्रथम द्वितीय र तृतीय हुने प्रतियोगीहरूमा क्रमशः अनिता राई, सुस्मा राई र आङ छुटिङ शेर्पा रहेका छन् । यस्तै १८ देखी २९ वर्ष उमेर समूहका पुरुष तर्फ प्रथम द्वितीय र तृतीय हुने धावकहरू क्रमशः गोपाल तामाङ, उमेश राई र कुल बहादुर बस्नेत रहेका छन्, भने महिला तर्फ पहिलो, दोस्रो र तेस्रो हुने प्रतियोगीहरू क्रमशः हुमि बुढा मगर, इन्द्र कला नेम्वाङ र चन्दना राई रहेका छन् ।
यस्तै ५० देखी ६५ उमेर समूहको पुरुष तर्फको प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीहरू क्रमशः अन्तबिर राई, काजीमान राई र भीम बहादुर तामाङ रहेको माप्यदुधकोशी गाउँपालिकाका शिक्षा तथा प्रशासन शाखाका शिक्षा अधिकृत गजेन्द्र भट्टराईले जानकारी दिनुभयो ।
तीन वटै उमेर समूहका महिला र पुरुष दुवैतर्फका प्रथम स्थान हासिल गर्नेलाई २०÷२० हजार, द्वितीय हुनेलाई १५÷१५ हजार र तृतीयले १०÷१० हजारको दरले नगदसहित मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । त्यस्तै सबै उमेर समूहमध्ये समग्रमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने महिला र पुरुष दुवैतर्फका प्रतिस्पर्धीलाई क्रमशः १ लाख, ७५ हजार र ५० हजारको साथमा मेडल तथा प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा २ सय ३ जना धावकहरूको उपस्थिति रहेको थियो ।