खोटाङमा जन्मिएकी गायिका बबिना किराती भन्ने बित्तिकै धेरैले सम्झन्छन् “चरी भए भुरुरु .....” गीतलाई । सामान्य तरिकाले घाँस दाउरा र मेलापात गर्दै बुइपामा बाल्यकाल बिताएकी बबिना एसएलसी पछि राजधानी काठमाण्डौ प्रवेश गरिन् । राजधानी प्रवेश गरेपछि निरन्तर संगीत क्षेत्रमा सक्रिय रहेकी बबिना सानैदेखि नाँच्न, गाउन मनपराउँथिन् ।
संगीतमा रुचि भएपनि चर्चामा पुगिएला भन्ने चाहि नसोचेको उनी बताउँछिन् । खास गरी पप रकमा आफ्नो आवाज सुहाउने भएकाले रक गीतहरु उनले धेरै गाइन् पनि । तर पनि धेरैको मनमा भने त्यतीखेर बस्न सकिनन् । तर जब एउटा गीत रेकर्ड भएर युट्युवमा सार्वजनिक भयो, तब बबिनाको चर्चा चुलियो र उनले पछाडी फर्केर हेर्न परेन ।
गीत थियो “चरी भए भुरुरु, आउँथे उडेर” । २०७६ सालमा यो गीत बजारमा आएपछि बबिनालाई नेपाली सांगीतिक क्षेत्रमा धेरैले खोज्ने थाले, उनी धेरैको रोजाइमा परिन् । रियालिटी शो “द भोइस किड्स” मा सरगम राईले “चरी भए भुरुरु ....” गाएपछि बबिनाको लोकप्रियता झनै बढ्यो । बबिना भन्छिन् “लक डाउनको बेला सार्वजनिक भएको यो गीत त्यतीखेरै धेरैको रोजाइमा परेपनि द भोइस किड्समा गाइएपछि गीतले सांगीतिक उचाई लियो र मलाई पनि धेरै माझ चिनाउन मद्दत गर्यो ।”
सांगीतिक क्षेत्रमा स्थापित हुन निरन्तर लगाव र मेहनत चाहिने भएपनि एउटै गीतले चर्चामा पुर्याउन मद्दत गर्ने उनको भनाई छ । “चरी भए भुरुरु ...” गीत पछि आफूलाई अध्याधिक मात्रामा फोन तथा म्यासेज आउने गरेको बबिनाको अनुभव छ । रक गीत गाउँदा गाउँदै एकपटक पूर्वेली गीत पनि प्रयास गरौं न भनेर डि आर अटुको शब्द सिर्जनाको यो गीत पहिलो पटक गाएको बबिनाले स्मरण गरिन् ।
सांगितिक क्षेत्रमा लाग्दा घरपरिवारवाट निरन्तर साथ सहयोग पाएको बताउने बबिना कहिले काही उपलब्धी शुन्य हुँदा निराश बनेको बताउँछिन् । गीतहरु नचल्दा अब के गर्ने भन्ने प्रश्न आफूले आफैलाई उनले पटक पटक गरेको उनी सुनाउँछिन् । तर लेखेरै आएपछि एउटै गीतले बबिनाको जीवन परिवर्तन भएको छ । उनलाई यतिखेर विभिन्न मेला महोत्सवमा सांगितिक प्रस्तुतिका लागि भ्याइनभ्याई छ ।