सोलुखुम्बु । आर्थिक वर्ष ०७६÷०७७ मा सोलुदुधकुण्ड नगरपालिका भित्रका १ सय ५७ जनाले माटो परिक्षण गराएका छन् । कृषि ज्ञान केन्द्र सोलुखुम्बु र सोलुदुधकुण्ड नगरपालिका कृषि शाखाको संयुक्त आयोजनामा माटो शिविर कार्यक्रम अन्र्तगत यस वर्ष पनि कृषकहरुले माटो परिक्षण गराएका हुन ।
०७६ फागुन ११ गते सल्लेरीको नयाँ बजारमा आयोजित माटो शिविरमा ६३ जना कृषकहरुले माटो परिक्षण गराएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुका निमित्त प्रमुख कुल बहादुर राईले जानकारी दिनुभयो । यस्तै सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिंलामा फागुन १२ गते ९४ जना कृषकहरुले माटो परिक्षण गराएको पनि राईले बताउनुभयो ।
कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार सोलुखुम्बुका ७० प्रतिशत कृषकहरु माटो परिक्षणबारे जानकार भएको पाईएको छ । अहिले आठ वटै स्थानिय तहमा कृषि शाखा स्थापना भएको कारण कृषकहरुलाई सल्लाह सुझाव लिनको लागि सहजता भएसँगै कृषकहरुमा माटो परिक्षणबारे जानकारी भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुका निमित्त प्रमुख कुल बहादुर राईले बताउनुभयो ।
विरुवालाई चाहिने खाद्य पदार्थ र पोषक तत्वको पहिचान गर्नको लागि अनिवार्य माटोको परिक्षण गर्नुपर्ने निमित्त प्रमुख राईले स्पष्ट पार्नुभयो । बालि लगाउन भन्दा अगाडि कृषकहरुले माटो परिक्षण गराउन सकेको खण्डमा कृषकले राम्रो उत्पादन लिन सक्ने राईको भनाई छ ।
यस्तै सोलुखुम्बुमा रासायनिक मल भन्दा प्रांगारीक मल प्रयोग गर्ने कृषकहरुको संख्यामा वृद्धि हँुदै गएको पनि निमित्त प्रमुख कुल बहादुर राईले जानकारी दिनुभयो । रासायनिक मलको बढि प्रयोगले माटोको भौतिक गुण बिग्रिदैँ जाने भएको कारण कृषकहरुले प्रांगारीक मलको प्रयोगलाई बढावा दिन थालेको राईको भनाई छ ।
रासायनिक मलको प्रयोगले २÷३ वर्ष राम्रो उत्पादन लिन सकिएपनि त्यसपश्चात माटोको उर्वराशत्ति हराउँदै जाने भएको कारण प्रांगारीक मलको प्रयोग बढाउनको लागि आफुहरुले दिएको सुझावलाई कृषकहरुले व्यवहारमा लागू गरेको राईले उल्लेख गर्नुभयो । साथै गोठेमलको प्रयोगले बारीको उर्वराशत्ति बढाउने र स्वास्थ्यको लागि पनि फाईदाजनक हुने भएकाले प्रांगारीक मलको प्रयोगमा जोड दिनका लागि कृषि ज्ञान केन्द्र सोलुखुम्बुका निमित्त प्रमुख कुल बहादुर राईले सुझाव समेत दिनुभयो ।