काठमाडौँ । झट्ट हेर्दा बाबाजि अर्थात जोगि जस्तो देखिने केदार त्रिपाठि टेम्पो चालक हुन् । दारी पालेको अनि जोगिको भेषमा टेम्पो चलाउने भएको कारणले होला उनलाई धेरै जसोले टेम्पो चालक नभएर बाबाजि नै हो भनेर नजर अन्दाज पनि लगाउने गर्दछन् ।
दुरुस्त बाबाजि जस्तो देखिने ५७ वर्षका केदार त्रिपाठिको बिहान ६ बजेदेखि दिनचर्या शुरु हुन्छ । बानेश्वरको कात्यानि चोकदेखि सुन्धारासम्म दिनभरीमा ८ ट्रिप गर्छन उनी । टेम्पो गुडाउनका लागि बिहान रोडहरु खुल्ला भएपनि बिहान ९ बजेदेखि रोडमा सवारी साधनहरु खचाखच हुन थालेसी जाम शुरु हुन्छ । हरेकदिनको ट्राफिक जामसँग उनको राम्रै चिनजान छ, त्यहि भएर उनलाई कतिपनि चित्त दुखाई छैन ।
पहिलाको घर काभ्रे भएपनि पछि बुबा आमा सर्लाहीको हरिवनमा बसाई सरेर गएका रहेछन् । गरिविको कारण हातमुख जोर्न धौ धौ परेकाले उनी घरबाट भागेर ईन्डिया तिर लागे । ईन्डिया गएर रिक्सा चलाउन सिकेका रहेछन । उनी भन्छन् “म १६ वर्षको उमेरदेखि दिल्लिमा रिक्सा चलाउन शुरु गरेको हुँ । दिल्लिमा ९ वर्ष रिक्सा चलाएँ । त्यसपछि फेरी ट्याक्सी चलाउन शुरु गरे । १४ वर्ष ट्याक्सी चलाएँ यात्रु लिएर ईन्डियाको विभिन्न ठाउँहरु पुगिन्थ्यो ।”
उनले ईन्डियामा रहँदा साथि संगतले गाँजा खान शुरु गरेका रहेछन । जाँड रक्सि पनि धेरै मात्रामा सेवन गर्ने गरेको उनी बताउँछन् । आफुले रिक्सा र ट्याक्सी चलाएर कमाएको सबै पैसा भट्टिमा सक्ने गरेका रहेछन् । उनी भन्छन “जाँड रक्सी त मेरो साथि जस्तै थियो । कहिलेकाँहि आधा रातमा होटलको ढोकामा ढकढकाउन पुग्थेँ, टन्नै गालि खाईन्थ्यो ।”
पछि कसो कसो गरि बल्ल जाँड रक्सी खान छाडेका रहेछन उनले । अहिले उनले जाँड रक्सी खान छाडिसकेका रहेछन् । मासु समेत खाँदैनन उनी । शाकाहारी बनेका रहेछन् । चुरोट भने छाड्न नसकेको उनी बताउँछन् । जाँड रक्सीको अत्यधिक सेवन गर्ने भएकाले आफुले बाबाजिको जस्तो पोशाक धारण गरेका रहेछन् । सो पोशाकले मनमा शान्ति मिल्ने उनको बुझाई छ ।
ईन्डियाबाट नेपाल आएर पनि उनले विस २०४८ सालदेखि नेपालमा टेम्पो चलाउन शुरु गरेका रहेछन । उनी भन्छन् “०४८ सालमा पेट्रोलबाट चल्ने टेम्पोहरु थिए । पछि ०५६ सालमा व्याट्रिबाट चल्ने टेम्पो आएको हो ।”
उनले शुरुमा रत्नपार्क देखि बुल्खु, जोरपाटि बौद्ध र कुलेश्वर देखि बल्खुसम्म टेम्पो चलाउने गर्थे । त्यो समयमा ३ मोहर थियो भाडा । पछि बीस्तारै दुई रुपैयाँ, तीन रुपैयाँ हुँदै अहिले १५ रुपैयाँ पुगेको उनी बताउँछन् । उनी भन्छन् “पहिला गाडिहरु कम थिए यात्रुहरु धेरै हुन्थे कमाई पनि मनमानि हुन्थ्यो तर अहिले सवारी साधन बढ्दै गएका छन् । त्यसैले कमाई पनि कम हुन्छ ।”
उनले पहिला दुई हजार मासिक रुपमा तलव लिने गर्थे । अहिले १२ हजार तलव लिन्छन् । दिनको ३१ सय रुपैयाँ साहुलाई बुझाउनुपर्ने उनी बताउँछन् । दिनमा कहिलेकाँहि चार हजार रुपैयाँ सम्म कमाई हुने रहेछ उनको । पहिला भट्टिमा सकिने पैसा अहिले उनले फाईनान्समा मासिक १० हजारका दरले जम्मा गरिरहेका रहेछन् । १० हजार घर खर्चका लागि छुट्याउँछन् । र साहुलाई बुझाएर बाँकि रहेको अन्य पैसा घर खर्च साथै चिया र चुरोटमा मात्र खर्च हुने उनी बताउँछन् ।
आफनो पालामा स्कूल नभएका कारण शिक्षाबाट वञ्चित भएपनि गाडि चलाउँदा चलाउँदै र साथि संगतले हिन्दी र बंगालि भाषा रामै्रसँग बोल्न आउने बताउँछन् । अंग्रजी पनि केहि मात्रामा आउने उनी बताउँछन् ।
टेम्पो चलाउने क्रममा अरु सवारी चालकहरुले ओभरटेक गरेर दुख दिने गर्दछन । तर उनी आफनो गतिमा सीमित भएर चलाउँछन् । उनी भन्छन् “बल हुनेहरु ओभरटेक गर्छन । उनीहरु कहिलेकाँहि दुर्घटनामा पनि पर्छन । २८ वर्ष भयो मैले टेम्पो चलाएको तर यस अवधिमा आज सम्म कुनै नराम्रो दुर्घटनामा परेको छैन । ड्राईभरमाथि यात्रुहरुमाथि भरोसा हुन्छ र ड्राईभरको पनि ठूलो जिम्मेवार हुन्छ ।”
उनी आफनो सबै परिवारसँग काठमाडौँमा नै बस्दै आएका छन् । सर्लाहीमा आफनो केहि खेतबारी भएपनि आफनो आफन्तलाई कमाउन दिएको उनी बताउँछन् । उनका श्रीमति र ३ छोरा छन । जसमा एक छोरा शूस्त मनस्थितिका रहेछन् । एक छोरा प्लम्बर एक छोरा प्रेसमा अनि श्रीमति फाईनान्समा काम गर्दा रहेछन । घर खर्चको लागि बराबर खर्च गर्छौँ उनी भन्छन । ५७ वर्षका केदार त्रिपाठि भन्छन् “३ मोहर भाडा हुँदा देखि टेम्पो गुडाएको हुँ, अहिले १५ रुपैयाँ पुग्यो । अब उमेर र मेरो क्षमताले भ्याएसम्म यहि टेम्पो चलाएर बस्छु । टेम्पो मेरो सहारा हो ।”