बैसाख २८ शनिबार २०७६
“नयाँ बर्ष“
’लेंकमा कुक्कु र काफलचरी वसन्तको याम गाईरहेछन् । ’
दिन लामो हुँदै जाँदा रुखका बोक्रामा टाँसिएका झ्याउकिरीहरु साँझ अबेर सम्म एक तमासले बासीरहन्छन । रातमा खासै शीत् खस्दैन । घुरेनमा हिउँदे सिमीको लहराले बेरेको आरु र नासपातीको बोट सेतम्मे छन् । एकाबिहानै बाँस झ्यांगमा एक हुल चराचुरुङ्गी बेजोडले ऋतु परिवर्तनको स्तुति गाईरहेछन् । मास्तिर हुलाँस कर्कटपाताले छाएको मतानको खोपीमा जोडी परेवा प्रेमिल बैंश घुरीरहेछन् ।
झ्यालको आग्लो ड्याङगै उघार्दा घामले आमादब्लमको छातीमा सुनौलो लाली पोखिएको दृश्य । जाईफुलको रुखमुनी धारामा खरानी र मकैको खोसेलाले स्टिलको गिलास मस्काउँदै गुन्गुनाउँदै गरेको एउटा आवाज(“..लौ नयाँ साल पनि लाग्यो माइली ।“
उता मेरो पहाडमा नयाँ बर्षको यस्तै छेकोमा बिहान आमाले भाउजुलाई यसो भन्दै गरेको हुनु पर्छ ।
म लख काट्छु ।
ईश्वी सम्बत् भन्दा ५७ बर्ष जेठो बिक्रम् सम्बत्को नयाँ दिनहरुमा यता म भने ति दिनहरुलाई स्मृतिको केन्द्रमा राखेर विगतका किनाराहरु पच्छाई रहेछु । यहाँ खोपीका परेवाले आत्मियता होइन चिल र बाँजले प्रत्येक प्रहर खबरदारी गाउँछन् । हुदय चट्टान र मरुभूमि बनाएपछि मेरो घुरेनमा क्याक्टस् र सिउँडी नसप्रिएर कहाँ फुल्छन् त सेतै मग्मगाउने इन्द्रकमल ? उबेला मलाई आँगन डीलको बाह्रमासेले खुब घोच्थ्यो । अचेल यहाँ मलाई गुलाबले साह्रै पो बिझाउँछ । किन फुल्दैनन् गुराँसहरु रातै रङ्हरुमा । न देख्छु यहाँ मान्छे गुराँस भएर फुलेको । यो परदेशमा माटोको वास्ना खै ? हामीले टेक्ने माटोहरुमा त अत्तरको सुगन्धको पो भेट्थ्यो । होइन र बहिनी ?
ए साँच्चै बहिनी, गुराँस भएर किन फुल्न सक्दैनन होला है यताका मान्छेहरु ?
’र्पिथीवीको वल्लो र पल्लो छेउमा हामी र हाम्राहरु । ’
कहिले यहाँ माइनस डिग्री सेल्सियसको तापक्रममा घरका राडी(पाखी र धुँसाहरु ओढ्दै त कहिले प्रचण्ड गर्मीहरुमा झ्याम्मै लाँकुरी र वरपीपलको सियाँल ताप्दै हामी हाम्राहरुसँगै ऋतु मनमा हिउँद बर्खा चिसिञ्छौरओभिन्छौं । प्रवास ओछएका छौं त के भो ? आकास त एउटै त ओढेका हौं नि । एउटा सुखद या दुखद कुनै एक संयोगले नै हामी यो फरक धरामा बाँच्न बाध्य भयौं । हृदयको पाखाभरी रातै गुराँस फुलाएर हामी पनि आफ्नै उद्गम बस्तीको गीत गाईरहेकाछौं । यसैले त बेचैन छ हाम्रा गाउँले मनहरु यो सुगम शहरमा । त्यतै कतै छन् हैं हाम्रा मनहरु पनि । खेतका आलीहरुमा । लहलहाउँदो बालीहरुमा । फूलका डालीहरुमा..।
’अनि पो दुख्छ यहाँ हाम्रा कमलो मनहरु ।’
उता त झन् दुखाउने तन्नेरी मनहरु नै बस्तीबाट रित्तिदै गए । बस्तीमा युग हाँक्ने पुस्ता पातलिदै गएपछि पाका अनुहारहरुले मात्र बस्ती कति नसुहाएको ? कति कुरुप देखिने गाउँ ? बाटाहरु किन साँघुरो लाग्छन् ? त्यो हिमाल किन कालो देखिन्छ हँ ? इस्कुलको हेडसरको कपाल र जुँगा कस्तरी फुलेको ? आमाको हाँसोमा किन मलिनता ? घरको छानोमाथि किन बेमौसमी झार हल्लिरहेछ ? बतास उत्तरतिर मात्रै किन हुँइकिन्छ ?
’उराठ खर्क जस्तै । फुङ्ग उडेको बस्तीमा ख्वोइ कहाँ छ रङ्ग ? ’
म मेरो बस्तीको जीवन छोडेर यो शहरको भुँइतलामा कंक्रिड कोर्तदै गम्छु अचेल । म पनि त ’पर(देशसँग पाखुरी साटेर छातीमा देश अटाउँछु । खै, मेरो गन्हाउँने पसिनाले मेरो बस्तीको माटो भिजेंन । यहाँ अत्तर सुँघेर कुन उन्नतीको माथ उक्लिनु छ र ?
दैनिक औसत दुई हजार युवाको लस्करमा म पनि ठिंग उभिएको छु । मेरो अगाडि सपनाको अग्लो पहाड ठडिएको छ । मेरै ठीक पछिल्तिर सपनाकै बुँई चढेर तन्नेरी बैंश सेकाउन अरब उड्न लागेको जवान रातो रुपस्याकको डोरीमा एक थुंगा फुल र खदा बाँधीरहेछ । र बाँधी रहेछ आफ्नो मनलाई हृदयकै सुनडोरीले टन्टन्ती... ।
मलाई थाहा भो । किन हिमाल कालो देखे । किन हल्लिरह्यो घरको छानोमाथि बेमौसमी झार ? र किन हिकाईरह्यो मलाई नै उत्तर हुईकिएको बतासले ?
सपना लखेट्दै अरबभूमीमा जीवन खोज्ने लाखौं युवाशक्तिहरु, सपना देख्दै युरोप अमेरिका भाँसिएका जनशक्तिहरु । हामीमा समस्या समानान्तर त नहोला । हाम्रो उस्ता उस्तै जीवन पक्कै नहोला । तर हामीले सँगै उँभो हेरेको पहाड एउटै हो । हामीले चिउँडो गाडेर पिउने कुवा एउटै हो । हामीसँगै विगतका नयाँबर्षहरुमा आनन्दको बाँसुरी फुक्थ्यो । र गाउँथ्यो,हामी हाम्रै जीवनका गीतहरु । पृथिबी को जुनै दुलोमा शरिर ओताएपनि हाम्रो शीर कहिल्यै नलुकोस् । हाम्रो शान कहिल्यै नझुकोस् । यत्ति कामना गरौं ।
नयाँ बर्षले सबैमा सुखरशान्ति मिलोस् ।
बस् यत्ति ।
नेचासल्यान(३, सोलुखुम्बु
हाल अमेरिका