असोज १३ सोमबार २०७६
काठमाडौ नेपाल आजदेखि दक्षिण एसियाको पहिलो खुला दिसामुक्त राष्ट्र बन्दैछ । दिउँसो १२ बजे राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा आयोजित ‘खुला दिसामुक्त एवं पूर्ण सरसफाइतर्फ अग्रसर नेपाल समारोह’मा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्नुहुनेछ । त्यसपछि नेपाल आजैदेखि दक्षिण एसियाको पहिलो खुला दिसामुक्त राष्ट्र बन्नेछ ।
सरसफाइ गुरुयोजनालाई २०६८ साल साउन २९ गते मन्त्रीपरिषदबाट स्वीकृत गराई तत्कालीन राष्ट्रपति डाक्टर रामवरण यादवले २०६८ साल असोज १२ गते प्रमाणीकरण एवं लोकार्पण गर्नुभएको थियो । गुरुयोजनाको मर्म अनुसार विभिन्न जिल्लालाई खुला दिसामुक्त घोषणा गर्दै नेपाललाई नै खुला दिसामुक्त घोषणा गर्ने दिनमा आईपुगेको हो । यद्यपि कतिपय संघसंस्थाले गुरुयोजना लागु हुनु भन्दा अगावै सरसफाइ कार्यक्रमहरु गर्दै आएका थिए । आफूखुसी सञ्चालन गर्दैै आएका ती कार्यक्रमहरुमा भने एकरुपता थिएन ।
गुरुयोजना लागु भएपछि स्थानीय सरकारको नेतृत्वमा सरसफाइलाई अभियानको रुपमा अगाडि बढाईएको थियो । त्यसक्रममा २०६८ सालबाट अभियान सुरु भएको थियो ।
चितवनबाट प्रारम्भ गरिएको अभियानमा पहिलो खुलादिसामुक्त जिल्ला कास्की, दोस्रो चितवन र तेस्रो तनहुँ घोषणा भएको थियो । अहिले पछिल्लो जिल्ला भोजपुरलाई २०७६ असोज ४ गते खुला दिसामुक्त घोषणा गरेपछि देशका ७७ वटै जिल्ला खुलादिसामुक्त घोषणा भएका हुन् ।
नेपाल आज खुला दिसामुक्त घोषणा भएपछि पूर्ण सरसफाइको अभियान तर्फ अग्रसर हुने खानेमन्त्री बिना मगरले बताउनुभयो । उहाँले २०६८ सालमा सुरु भएको सरसफाइ गुरुयोजनासँगै खुला दिसामुक्त क्षेत्र घोषणा अभियानले व्यापकता पाएर नेपाल नै खुला दिसामुक्त राष्ट्र हुने स्थितिमा पुगेकोमा खुसी व्यक्त गर्नुभयो ।
हालसम्म देशका ५६ लाख ६० हजार २ सय १४ घरधुरीहरुमा शौचालय बनिसकेका छन् । नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भए लगत्तै छिमेकी मुलुक भारतले समेत खुला दिसामुक्त राष्ट्र घोषणा गर्न लागेको छ ।
कुन प्रदेशमा कति शौचालय ?
राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका अनुसार हाल देशभर ५६ लाख ६० हजार २१४ घरधुरीमा शौचालय बनेका छन् ।
प्रदेश १ मा ९ लाख ६५ हजार २७२
प्रदेश २ मा ९ लाख ३३ हजार ६ सय ४९
प्रदेश नं. ३ मा १६ लाख २२ हजार १९३
गण्डकी प्रदेशमा पाँच लाख ४८ हजार २१०
प्रदेश ५ मा सात लाख ९३ हजार ९९०
कर्णाली प्रदेशमा तीन लाख सात हजार ९६५
र सुदूरपश्चिम प्रदेशमा ४ लाख ८९ हजार १२ शौचालय बनेका छन् ।
source- washkhabar