काठमाडौं, भदौ २९
संस्कृतिलाई जोगाउनका लागि युवा पुस्ताले ध्यान नदिँदा संस्कार नै लोप हुने अवस्थामा पुगेको थुलुङ हाउपाच्यो सामाका अध्यक्ष वसन्त कुमार थुलुङ राईले बताउनु भएको छ । उहाँले थुलुङ हाउपाच्यो सामा सोलुकाठमाडौँको नवौँ बैठकलाई सम्बोधन गर्नुहुँदै युवा पुस्ताले संस्कार संरक्षणमा गम्भिरता पूर्वक जागरुक हुन आवश्यक रहेको विचार व्यक्त गर्नुभयो । “नेपाल धर्म निरपेक्ष देश हो । सबै किसीमको धर्म मान्नलाई स्वतन्त्र छ, तर धर्म परिवर्तन गर्दैमा सबै समस्या समाधान भने हुन सक्दैन”् अध्यक्ष राई भन्नुहुन्छ ।
यस्तै संस्थाका उपाध्यक्ष डाकमान थुलुङ राईले परम्परालाई पुस्ता हस्तान्तरण गर्न आवश्यक रहेको उल्लेख गर्नुभएको छ । उहाँले, आफनो परम्परालाई जोगाउन नसके आफनो अस्तित्व नै हराएर जाने बताउनुहुँदै नयाँ पुस्ताले यो जिम्मेवारी लिनुपर्ने विचार व्यक्त गर्नुभयो । उपाध्यक्ष राईले पश्चिमेलि आधुनिक शैलिले युवाहरुलाई नकारात्मक असर पारेको टिप्पणि गर्नुहँुदै अहिलेदेखि नै युवाहरुलाई शर्तक रहन समेत आग्रह गर्नुभयो ।
युवाहरुलाई एक गर्न संस्थाको मूख्य चुनौति रहेको संस्थाका अध्यक्ष वसन्त कुमार थुलुङ राईले बताउनुभयो । साथै संस्थाले त्रैमासिक रुपमा बस्दै आएको बैठकमा पनि संख्या कम हँुदै गएको भन्दै कोषाध्यक्ष चन्द्रकला राईले दुखेसो गर्नुभएको थियो ।
संस्थाको भावि योजना तथा रणनीतिबारे बैठकमा छलफल भएको थियो । संस्थाका अध्यक्ष वसन्त कुमार राईको अध्यक्षतामा सम्पन्न बैठकले संस्थाको चुनौतिहरुलाई भावि दिनमा सुल्झाउदै लैजाने साथै संस्थाको विधानबारे अर्को बैठकमा बृहत रुपमा छलफल गर्ने निर्णय गरेको छ ।
संस्कार संस्कृतिलाई संरक्षण गर्ने उद्धेश्यले स्थापना भएको थुलुङ हाउपाच्यो सामा नामक संस्थाको नियमित बैठक अन्र्तगत नवौँ बैठक शनिबार काठमाडौँमा सम्पन्न भएको छ । बैठक संस्थाका सम्बन्धित पदाधिकारीहरुको उपस्थितिमा सम्पन्न भएको हो ।
‘थुलुङ हाउपाच्यो सामा’ को उद्धेश्य
नेपाल अधिराज्यको विभिन्न जातजातिहरुमध्ये किरात समुदायको राई जातिमा थुलुङहरुको जीवन्त कायम राख्दै आएको प्राचिन जाति हुँदा सो जातिको भाषा, धर्म र संस्कृतिको संरक्षण सम्बर्धन गरी शैक्षिक, सामाजिक र आर्थिक उत्थान गर्न सकेमा थुलुङ जातिको सर्वाङ्गिण विकासमा सहयोग पु्र्याउने पवित्र उदेश्यले प्रजातान्त्रिक संस्कारलाई शिरोपर गरि विशुद्ध सेवा भावले स्थापित संस्था थुलुङ हाउपाच्यो सामा को गठन २०७४ सालमा भएको हो ।
‘थुलुङ हाउपाच्यो सामा’ को विधानमा उल्लेख भएअनुसार जन्म, पास्नि, छेवर, विबाह, मृत्यु र राईहरुको चाडपर्व र राष्ट्रिय चाडपर्व तथा संस्कार संस्कृतिलाई संरक्षण गर्दै नयाँ पुस्तालाई परम्परागत शैलिहरुलाई सिकाउँदै लैजानेछ ।
कसरी÷किन ‘थुलुङ हाउपाच्यो सामा’ ?
राई जातिहरुमा विभिन्न पाछाहरु रहेका छन् । जसमा हाउपाच्यो पाछा (तोङदिसे कुदुवा वालपा) पनि एक हो । जो सोलुखुम्बको साविकको मुक्लि गाविस अर्थात हालको थुलुङ दुधकोशि गाउँपालिकामा अवस्थित छन् ।
संस्थाका अध्यक्ष वसन्त कुमार राई भन्नुहुन्छ “हाउपाच्यो भन्नाले राई जाति भित्रको अन्य थरमा थुलुङ एक थर भई थुलुङहरुको अन्य पाछामा एक पाछा हो भने हाउपाच्यो सामा भन्नाले थुलुङ हाउपाच्यो समाज हो ।”
“शुरुमा सात जनाको कार्यसमिति चयन गरेर समिति गठन गरेका हौँ । पछि अन्य छुटभएकाहरुलाई थपेका छौँ । हाम्रो पाछाको सबैलाई समेट्ने हाम्रो उद्धेश्य हो ।” संस्थाका उपाध्यक्ष डाकमान राई भन्नुहुन्छ । हाउपाच्योको संख्या यकिन नभए पनि सोलुखुम्बु, काठमाडौँ र अन्य विभिन्न देशहरुमा छरिएर रहेका छन् । संस्थाले विशेष गरि काठमाडौँमा बसोबास गरीरहेका हाउपाच्यो पाछाका समुदायलाई सहयोग गर्ने बताएको छ ।
“सोलुखुम्बु जिल्लाबाट काठमाडौँ आएर बसोबास गर्नेको संख्या बढ्दो क्रममा छ । काठमाडौँलाई कर्मक्षेत्र बनाएर धेरैले सुन्दर भविष्य बनाएका पनि छन् । तर आफनो भविष्य मात्र सुन्दर भएर नहुने रहेछ । आफनो समुदाय र समाजविना पनि भविष्य अधुरो रहने कुरा हामिले महसुस गरेयौँ । हामीलाई हरेक कर्म सम्पन्न गर्नको लागि समुदाय अनि समाजको आवश्यकता पर्छ । त्यहि आवश्यकता पूर्ति गर्नका लागि विशेष गरेर यो संस्थाको स्थापना गरेका हौँ”, थुलुङ हाउपाच्यो सामा’ का अध्यक्ष वसन्त कुमार राई भन्नुहुन्छ ।
'करिव ०७३ सालको कुरा हो । गाउँकै आफन्तको मृत्यु भयो तर उहाँको अन्तिम संस्कारको समयमा आफनै दाजुभाई जुट्न पनि एकदम मुस्किल परेको थियो । सामाजिक सञ्जालमा मात्र दुख व्यक्त गरियो तर सामुन्ने आएर शोक व्यक्त गर्ने नाताहरु औँलामा गन्न सकिने केहि संख्याको मात्र उपस्थिति थियो । फेरी उहि घटना कहिल्यै पनि नदोहोरीयोस भन्ने उद्धेश्यले पनि यो संस्था हामिले हाम्रो दाजुभाइ मिलेर स्थापना गरेका हौँ । स्थापना पश्चात हामीले आफनो संस्कार, परम्परा लगायत आफनो भाषालाई जगेर्ना गर्ने लगायतको विषयहरुलाई जोड दिदैँ गईरहेका छौँ”, संस्थाका उपाध्यक्ष डाकमान राई भन्नुहुन्छ ।
आ–आफनो कार्य व्यस्तताका कारण हरेकको गन्तव्य फरक–फरक हुन्छ । गाउँमा सधैँ भेटघाट भईरहने साथिभाई र नाताहरुसँग छुट्नुपर्ने बाध्यता छ काठमाडौँमा । गाउँमा सधैँ बोलचाल भईरहने साथिसँग बाटोमा भेट्दा पनि राम्रोसँग बोल्न नपाउने व्यस्तता हुन्छ यहाँ । आफनोलाई पनि पराई बनाउने ठाउँ हो काठमाडौँ । समय हो या परिस्थिती जहाँ आफनाले नै आफनैलाई चिन्दैनन् । साथ र सहयोगको कुरा त परैको कुरा हो । यस्तै परिस्थिती आईपरेको थियो कुनै समयमा सोलुखुम्बुका हाउपाच्यो पाछाका समुदायलाई । जसलाई पन्छाउनका लागि स्थापना गरिएको हो ‘थुलुङ हाउपाच्यो सामा’ ।
दुःख आईपर्दा साथ र सहयोग गर्ने साथै आफनो वंशावलिलाई कायम राख्दै संस्कृतिको जगेर्ना गर्ने अठोटका साथ संस्था अगाडि बढिरहेको छ ।
संस्था खडा गरिसकेपछि पनि सबै समस्याहरु त समाधान हुन सकेका छैनन् तापनि धेरै कुराहरु नयाँ पुस्ताका भाईबहिनिहरुलाई बुझाउनुको साथमा सुनाउने मौका पाएको उहाँ सुनाउनुहुन्छ । “तर उनीहरुले यो कुरालाई गहन रुपमा लिएको हामि अग्रजहरुले पाएका छैनौँ, त्यसैले फेरी पहिलाको जस्तो समस्या नदोहोरिएला भन्नेमा हामि विश्वस्त भने छैनौँ”, डाकमान राई भन्नुहुन्छ ।
कामको व्यस्तता साथै पुस्ता अन्तरालको कारणले आफनै वंशावलि पनि चिन्न मुस्किल परेको संस्थामा आबद्ध प्राय सबैको अनुभव छ । तर संस्था खडा गरिसकेपछि चिनजान बढ्नको साथै आत्मियता पनि कायम भएको सबैको अनुभव छ ।
संस्थाकी सचिव एलिना राई भन्नुहुन्छ, “अब हामी नयाँ पुस्ताले अग्रजहरुको बाटो हीँड्न सक्नुपर्छ । साथै संस्कृतिको जर्गेना गर्ने कुरामा युवाहरुको ध्यान जानुपर्छ ।”
अहिलेका युवाहरु हामिले सोचको भन्दा धेरै आधुनिकतामा मोडिएका छन् । कला, धर्म, भाषा, संस्कृति, रीतिरीवाज र परम्परालाई बिर्सदै आईरहेका छन् । हाम्रो पुस्तापछि अब के होला भन्ने डर पनि छ । तर अग्रजहरुको कुरालाई ग्रहण गर्दै गएमा संस्कृतिको जगेर्ना हुनेमा कुनै पनि दुईमत छैन् । त्यसैले युवाहरुलाई भविष्य निर्माणका लागि जुनसुकै देशमा गएतापनि आफनो देशको माटो र संस्कृतिलाई नभुल्न अग्रजहरुले अनुरोध गरेका छन् ।
“मानिस सामाजिक प्राणि हो । जो समाजविना हरेक कर्म अधुरो नै रहन्छ । समय अनुसार आफुलाई परिवर्तन त गर्नुपर्छ तर आफु उत्पति भएको धरातल कहिल्यै पनि बिर्सनुहुन्न”, अध्यक्ष वसन्त कुमार राई भन्नुहुन्छ ।